Skip to content Skip to navigation
Filed under design figma video

फिग्मामा कम्पोनेन्ट, अटो लेआउट र भेरियन्ट बनाउने सजिलो विधि

फिग्मा सफ्टवेयरमा साधारण लेआउट बनाउने बाहेक कम्पोनेन्ट, अटो लेआउटभेरियन्ट प्रयोग गरेर थोरै परिवर्तन गरेर बाँकी आफैं अपडेट हुने डिजाईनहरू बनाउन मिल्छ । तपाईंको डिजाईनमा सयौंवटा उस्तैखाले कम्पोनेन्टहरू छन् भने घन्टौं समय लगाएर हातले एउटा एउटा गरेर फेर्ने दिनहरू गए । मैले हालसालै युट्युबमा यस्तैखाले एउटा भिडियो बनाएर पोस्ट गरेको थिएँ जहाँ मैले फिग्मामा एउटा क्यालेन्डर बनाउने कोसिस गरेको थिएँ । यो क्यालेन्डर बनाउने आईडियाचाँही मलाई मेरो डिजिटल डिजाईन वर्कशपको एकजना सहभागीले दिनुभएको हो । मैले यो क्यालेन्डर बनाउँदाखेरि यसको स्क्रिन रेकर्ड गरेको थिएँ जुन मैले पछि युट्युबमा हालें ।

खासमा फिग्मामा मुख्य कम्पोनेन्ट एकदमै थोरै भएपनि पुग्छ। मैले केवल तीनचारवटा मात्रै कम्पोनेन्ट बनाएको थिएँ । एउटा शीर्षक एउटा बार देखाउने र एउटाले मिति देखाउने । सातवटा बारहरूलाई मैले अटो लेआउट गरेर एउटै लहरमा राखें अनि त्यसको मुन्तिर मिति देखाउने कम्पोनेन्टलाई २८ देखि ३१ पटकसम्म कपी गरें र हरेकमा मिति फेरें । मैले मिति फेर्दा केवल त्यो मिति कम्पोनेन्टको कपीमा मात्रै मिति फेरियो र ओरिजिनल मिति कम्पोनेन्ट जस्ताको त्यस्तै बस्यो । यसले गर्दा मैले ओरिजिनल कम्पोनेन्टमा केही परिवर्तन गर्दा सबै ३१ वटा कपीमा परिवर्तन हुन्थ्यो तर कपीमा परिवर्तन गर्दा मुख्य कम्पोनेन्ट जस्ताको त्यस्तै बस्थ्यो । फिग्मा कम्पोनेन्टको सबैभन्दा ठूलो खुबी भनेकै यही हो । 

अनि यो कम्पोनेन्टहरूकोपनि विभिन्न स्थितिहरू हुन्छ । मैले मिति कम्पोनेन्टलाई नै साधारण बारको लागि एउटा स्थिति विदाको दिनको लागि छुट्टै स्थिति र युजरले क्लिक गरेको अवस्थामा हाईलाईट भएको अर्कै स्थिति गरेर तीनवटा फरक फरक स्थिति बनाएँ जसलाई भेरियन्ट भनिन्छ । भेरियन्ट प्रयोग गरेको फाईदा एउटैखाले कम्पोनेन्टको धेरैवटा स्वरूप बनाउन नपरोस् भनेर हो । भेरियन्टमा परिवर्तन भए माथि भनिएको कम्पोनेन्टजस्तै सबैतिर परिवर्तित स्वरूप देख्न सकिन्छ । 

यो फिग्मा भिडियो मैले बनाउन सुरू गरेको भिडियो श्रृङखलाको पहिलो भाग हो । अन्य भिडियो अपलोड भएपछि सबैभन्दा पहिले हेर्न मेरो च्यानल सब्सक्राईब गर्नुहोला

Comments